दशैंको बली समर्थन कि विरोध ?

सन्तोष पौडेल/विकल्प न्यूज
असोज ४ गते ।
santosh paudelनेपालीहरुको महान चाड वडा दशैं वा विजया दशमी हिन्दुधर्मालब्धीहरुको प्रमुख चाड हो । राष्ट्रिय चाडको रुपमा मानिने यो पर्व विशेषतः शरद ऋतु आश्विन महिनामा पर्दछ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिन जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरुको पूजा गरिन्छ । हिन्दुधर्मालम्बीहरुले नवमीसम्म शक्तिको आरधना गरी दशौंं दिन विहान दशमीका दिन टिका प्रसाद ग्रहण गर्ने चलन रहेको छ । यो पर्व पुर्णिमासम्म मनाइन्छ । यो पर्व हर्ष एवं उल्लास तथा विजयको पर्व हो । यस पर्वमा आफ्ना नाता कुटुम्ब, ठुला वडा र मान्यजनबाट टिका तथा जमरा ग्रहण गरी आशिर्वाद लिने प्रचलन रहेको छ । यसका साथै यस दिन नयाँ नयाँ कपडाहरु लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने खुवाउने, घर आँगन, बाटोघाटो, गाउँ वस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

विजया दशमी भनेपछि सामान्यताः विजय जोडिन्छ, विजय भनेको जित हो । यो पर्व कहिलेबाट मनाउन थालिएको हो भन्ने कुनै तथ्य छैन तर ग्रन्धमा देखिए अनुसार भगवतीले दानवी शक्ती माथी र भगवान् रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा खुसीयाली मनाउनका निमित्त नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाई यस पर्व मनाउने गरिन्छ । नेपालको इतिहास हेर्दा पृथ्वी नारायण शाहले नेपाललाई एकीकरण गर्ने क्रममा हिड्न लाग्दा विजयादशमीको साइतामा हिड्नु राम्रो हुन्छ भन्ने परम्परा बसिसकेको थियो ।
त्यस बेला शाहकी आमाले उनलाई अक्षताको टिका लगाएर आशिर्वाद दिएकी थिइन् । यसलाई असत्य माथि सत्यको विजयको रुपमा लिईन्छ । यसकारण यस दशमीलाई विजया दशमी भनिएको हो । यो शक्तिको पुजाको पर्व हो । यस पर्वको छुट्टै महत्व छ, व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैंको उत्सव सुरु भएको हो ।

दशैं पर्वले दश प्रकारका पापहरु काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने (छोड्ने) पे्ररणा दिन्छ । विजया दशमी संसारका कुना कुनामा मनाइन्छ । विविध कारणले गर्दा विदेशियका नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुले आ–आफ्नो तरिकाले यो पर्व मनाउने गरेका छन् । भारतमा पनि रामलीलाको आयोजना गरि रावणको विशाल पुत्ला बनाएर जलाईन्छ । सिक्किम, दार्जिलिङ्ग, जलपाईगुडी, मेघालय, आसाम, अरुणाचल, नागालैंड, मणिपुर, त्रिपुरा, उत्पराखण्ड आदी ठाउँहरुमा पनि नेपालमा जस्तै घटस्थापना, फुलपाती, विजया दशमी आदि धुमधामसँग मनाइन्छ ।

यस पर्वमा विभिन्न किसिमका सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक पक्षहरुको चर्चा सामाजिक संजाल र मिडियाहरुमा आउने गर्दछ । कतिपयले यो चाडलाई परिमार्जन गर्नुपर्छ भन्न थालेका छन् । साथै यस पर्वमा सर्वसाधरणहरुले झेल्नु परेका समस्याहरु, मंहगी, कालाबजारी, सवारी भाडादरमा मनपरी आदी कुराहरुको सर्वत्र विरोद्ध गर्दछन् । नेपालका ठुला व्यक्तित्वहरु, कलाकार, राजनीतिज्ञ लगायत सबैकोे बारेमा यस पर्वमा चर्चा हुने गर्दछ ।

नेपालका पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दशैंको टिका नलगाएको विषयमा सामाजिक संचाल र सडकमा धेरै प्रकारका व्याख्या विश्लेषण भइरहेका हुन्छन् । नेपाल धर्म निरपेक्ष देश हो र यहाँ जुनसुकै नागरिकले पनि कुनै पनि धर्म नमान्न वा मान्न पाउँछ । त्यसैले प्रचण्ड पनि कुनै धर्म मान्न वा नमान्न स्वतन्त्र छन् । दोस्रो, प्रचण्ड कम्यनिष्ट नेता हुन् । कम्युनिष्टहरु भौतिकवादी हुन्छन् ।

त्यसैले कुनै भौतिकवादी कम्युनिष्टले आफ्नो आदर्श अनुसार दशैं नमान्नुलाई अचम्म मान्नुपर्दैन । यति मात्र नभएर बडा दशैंको बेलामा मठमन्दिरमा दिने बलीको पनि विरोध र समर्थन भएको पाइन्छ । हरेक वर्ष दर्शैंको नवौं दिन महानवमीमा देशभर बलिको नाममा पशुपंक्षी मारिन्छन् । कुनै पनि जिवित प्राणीलाई देवी देवताको नाममा निर्मम हत्या गरिन्छ भने त्यसलाई बली भनिन्छ । अहिले बलि प्रथा विवादमा छ । कसैको व्यक्तिगत रमाइलोको लागि कसैको जीवन समाप्त पार्ने कुरा चित्त बुझ्दौ छैन । बलि प्रथाको पछाडि पनि हिंसा मिसिएको छ ।

मानिसमा हुने बोकाको जस्ता काम भावना, भेडाको जस्तो मोह, ऊटको जस्तो मात्सर्य र मानिस मै हुने मदजस्ता पशुताको जस्तो व्यवहारलाई बली दिने भनिएको हो, पशुपंक्षीलाई होइन । बली प्रथाको अन्त्य गर्नु पर्छ भनी पछिल्लो समयमा थुपै्र बहस, छलफल र अभियानहरु चलाइएका छन् । पशुसँग भन्दा मानिससँग डराउनुपर्ने अवस्था आउन सक्ने भएकाले पशुबली विरुद्धको अभियानमा सबै जनताहरु सचेत भई लाग्नु पर्ने धारण आएका छन् । यस प्रथा विरुद्ध अभियान सुरु भएपछि बली ४५ प्रतिशतले घटेको समेत दावी केही विश्लेषकले गरेको पाइन्छ ।

तर हाम्रो समाजिक क्रियाकलापमा हेर्दा पशुपंक्षीलाई बली दिने प्रथा यथावत् रहेको पाइन्छ । मठमन्दिर लगायत अन्य सार्वजनिक स्थानमा रगतको खोला बगिरहेको छ । बली प्रथा हिंसाको एउटा डरलाग्दो संस्कृतिको पर्याय हो । यसबाट मानिसको मनमा नराम्रो भावना पैदा भएको छ । के पशुपंक्षी काटेर भगवानलाई नचढाए सम्म धर्म हुदैन र ? मासु खानुस, ठिक छ । तर हत्याको काम धर्मको नाममा नगर्नुस । दिनुस उसैलाई जिम्मा जसको पेशा हो । घरमा पनि पशुपंक्षीको हिंसा नगर्नुस्, घरैमा मार भनेको दुर्घटना निम्त्याउनु हो । धर्म त नविबल चढाउँदा पनि हुने रहेछ त ।

बलि त आफु भित्र रहेको इष्र्या, क्रोधजस्ता आसुरी प्रवृति पो दिने हो । यो मुर्खता हो, अन्ध विश्वास हो । प्रकृतिले मानिसलाई मानव साकाहारी भोजन गर्नका लागि भनेर ३२ वटा सक्कल मिलेको दाँतहरु दिएको छ । मांसाहारी बन्नको लागि होइन । खानको लागि प्रकृतिले फलफुल, काजु, पास्ता, खिर, पुलाउ आदि जस्ता मिष्ठान प्ररिकारहरु दिएता पनि मानिसलाई अरुको शरिर नै खान पर्ने बानी कसले लगाइ दियो ? मांसाहारी बन्नको लागि जंगली जनावरलाई जस्तै नंग्रा, दाह्रा र त्यही किसिमको शारिरीक बनोट दिएको हुन्थ्यो होला ।

पशुले त पशुलाई खायो अब हुदा हँुदै मानिसले पशुलाई मारेर आफ्नो स्वार्थका लागि खानु कहाँको मानवता हो ? अझै त्यो पनि आफूले खाएको हैन रे १ भगवानको नाममा भाकल गरि चढाएको रे १ जंगली जनावरले त अबुज हुन खाए भन्ने तर्क ठिकै होला, मानिसमा त दया माया हुन्छ नि खै कहा जान्छ दया माया ? यो ब्राह्माण्डमा मानव सबैभन्दा सर्बश्रेष्ठ प्राणी हो, उसमा पहिला मानवता हुनुपर्छ अनि बल्ल अरु सोच्ने हो । यसरी अहिलेको समयमा बली प्रथाको विरुद्धमा यस्ता विरोधावास कुराहरु आएका छन् ।

तर पनि केही व्यक्तिहरुले बली प्रथाको समर्थन गरेको पाइन्छ । उनीहरुका अनुसार हिंसा नगर्नु र साकाहारी हुनु फरक कुरा नभई ठ्याक्कै एउटै कुरा हो । खसी, साग, मुला, काउली, तिनमा लाग्ने किरा, लामखुट्टे सबैले श्वासप्रश्वास गर्छन । साग खाए पनि खसी खाए पनि वा लामखुट्टे मारे पनि त्यो हिंसा नै हुन्छ । आफूलाई जनावरवादी भन्न रुचाउनेहरु सामान्यतया रोग वा कमजोर पाचन शक्तिका कारण मासु खान नसक्ने, पशुपंक्षी सम्बन्धि प्रोजेक्टको सदस्य वा अरुको आस्थाको सम्मान गर्न नसक्ने अवस्था मध्येका व्यक्ति हुन्छन् ।

नत्र मान्छे काटिंदा विरोध नगर्नेहरु जनावर काटिरहदा विरोध गर्नुको पछाडि कारण यही हो । पशुको बाँच्ने अधिकार हुन्छ भने वनस्पतिको हुन्छ वा हुन्न ? जनावरहरु दुध खान र सौखका लागि मात्र पालिन्नन् । । खेतीपातिका लागि गोरु पालिन्छ । बाँझो जोत्न लगाएर गोरुलाई दुख नदेउ भन्नु कृषि प्रधान देशका सबै कृषक आत्म हत्या गर भन्नु सरह हो । विधि पु¥याएर गर्नेहरुका लागि कोही धर्मशास्त्रविद्का अनुसार पशुको मुक्तिका लागि विधिपूर्वक बली दिनु शास्त्रीय परम्परा रहेको बताएका छन् । पशुलाई बलि दिनु शास्त्रमै उल्लेख भएको छ, जसले देवीलाई शक्ति प्रदान हुन पुग्दछ । सरकारले जस्तो सुकै कानून बनाएपनि अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन नसक्ने भन्ने धारणा अर्का थरी विश्लेषकले दिएको पाइन्छ ।

अविवेकशील प्राणीलाई मुक्ती दिन मठ मन्दिरमा विधिपूर्वक बली दिनु पर्छ, मुक्त हुनका लागि बलि पाउनु पशुको भाग्य हो । गृहस्थाश्रममा बसेर सुखसुविधा भोग गर्नेले अनिवार्य बली दिनु पर्ने शास्त्रीय मान्यता रहेको पाइन्छ । राज्य संञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यक पर्ने हुदाँ बलि आवश्यक छ । यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गायज्ञका बेलामा अनिवार्य बली दिनुपर्छ । दुर्जनको विनाश र सज्जनको रक्षाको लागि राज्यलाई उत्साह शक्तिको आवश्यक पर्ने र दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनु पर्छ भन्ने शास्त्रीय मान्तयाका आधारमा बलिप्रथा सुरुवात भएको । मासु नखाने शाकाहारीले पनि बलि दिएर सुँधेर छोड्ने परम्परासमेत रहेको छ ।

अन्ततः नेपाली समाजमा धेरै किसिमका प्रथाहरु छन्, केहीको अन्त्य भयो भने केही अझै छन् । यस प्रथालाई तुरुन्तै हटाउन नसकिएता पनि यसलाई परिमाजन वा सहजीकरण गर्न नसकिने भन्ने होइन । धर्मको नाममा कसैले पनि बदनाम नगरौं । कुनै पनि धर्मले काटमार गरि अरु प्राणीको निर्मम तरिकाले हत्या गर्नुपर्छ भन्दैन । सबै धर्ममा पे्रम, सद्भाव, सहिष्णुता, सहयोग, भाइचारामा बसी सबै सकारात्मक सोच र अरुको भलो गर्नुपर्छ भन्ने मान्यता छन् । गढिमाईको वलि होस् वा दशैंको बेलामा देवीपीठहरुमा दिइने बलि नै किन नहोस् त्यो दानविय नृसंस हत्या भएको छ ।

जथाभावि मानिसले पशु हिंसा नगरुन भनेर प्राचिन ऋषिहरुले एउटा व्यवस्था गरेका थिए । जथाभावि पशु हिंसा नगर्नका लागि विधि तय गरिएको छ । तर हसिया उठाई हत्या गरिहाल्न पाइन्न । पुशको बलि दिँदा विधि बनाइएको हुन्छ । शास्त्रका अनुसार अहिले हामीले दिएको बली पुर्णरुपमा सफल भएको छैन । बलि दिनका लागि युवा पशु हुुनुपर्ने भनिएको छ । स्त्री पशुलाई बलि दिन पाइदैन्, निरोगी हुनुपर्छ भनिएको छ । नियम पु¥याए बलि नदिएकाले वलि दिनेहरुले पनि पुण्य पाएका छैनन् । पुजारी सबैलाई हतार हुन्छ ।

जसले गर्दा विधिलाई लत्याइएको छ । धर्मग्रन्धका विज्ञका अनुसार एउटा वलि दिनका लागि कतिवेर बेद मन्त्र पढ्ने, कसरी अभिमन्त्रण गर्ने, कुन प्राथर्ना गर्ने जस्ता सबै विधिलाई लत्याइएको छ । यो विकृति हो त्यसलाई सकेसम्म हटाउनु पर्ने उनीहरुको माग छ । चेतनाको जागरण हुनुपर्छ । भाकल गर्ने कुराहरु पनि अन्ध विश्वासमा आधारित छ । विधि पु¥याएन सकिनन भने देवी देवाताको मन्दीरमा लगेर कसैको जीवनलाई अत्य गर्ने र हत्या गर्ने काम राम्रो होइन । मासु खानुलाई गलत मान्न सकिदैन तर गलत तरिकाले मार्ने कुरालाई अबैध मान्नु पर्छ ।

आज देखी हामीले मन्दिरमा वा सार्वजनिक स्थलमा कुनै प्राणीको बलि नदिने मानविय सोचको विकास गरौं । मन्दिरमा बलि दिने प्रथालाई सामाजिक र कानूनी अपराध ठहर हुने कानूनको माग गरौं । मासुको निमित्त जनावर मार्ने तरिका कानूनले व्यवस्था गरोस् । जनावरको हत्या गर्दा गला रेटेर रगत छर्काएर मार्ने प्रथाको महापाप भएको कुरा बुझौं र अरुलाई पनि बुझाऔं । गलत परम्परा व्यक्तिले चाहेर तेतिकै बदल्नु बडो कठिन कार्य हो । नेपालमा सति प्रथा पनि सरकारले निषेद गरेकाले अन्त्य भएको थियो । तर हामी एक्काइसौ शताब्दीका मानिसहरु पदीय सपथ ग्रहण गर्दा ईश्वरको नाम लिन अन्कानाउने तर बाहिर खुेलआम टिका थापेर माला लगाएर पुजा आदि गरेर बलि दिने परम्परालाई निरन्तरता विरोध गरौं । सच्चा नागरिकको परिचय दिऔं ।